काठमाडौं / वि.सं.२०७२ सालको भुकम्प पछि स्वरुप गुमाएको काठमाडौंको रानी पोखरी अब केही दिन भित्रै पुरानै लयमा फर्किदै छ । रानी पोखरीलाई त्यो सुन्दर स्वरुप दिन तीन करोड लिटर पानी हालिएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा शनिबार पानी भरेको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा पानी भरिएको निर्देशनालयले जनाएको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले बताए ।
रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ । रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो ।
त्यसपछि मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरब भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधैं सहयोग गर्ने समेत स्पष्ट पारे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सकिएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन ।
प्रतिक्रिया दिनुहोस्