नयाँदिल्लीमा हिंसात्मक झडप: मृत्यु हुनेको संख्या ४२ पुग्यो - दर्पण संसार

नयाँदिल्लीमा हिंसात्मक झडप: मृत्यु हुनेको संख्या ४२ पुग्यो


एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूकाअनुसार झन्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तर–पूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ ।

हालसम्म ४२ जनाको मृत्यु भएको अस्पताल स्रोतले शुक्रबार जानकारी दिएको थियो ।

विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यसक्रममा १०० भन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तर–पूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायरबजार र पेट्रोपपम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो ।

संशोधित नागरिकता कानुन र राष्ट्रिय अभिलेख रजिष्ट्ररका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ ।

तर, भारत सरकारले कुनैपनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्