ट्राफिक कुट्ने ९ जना पक्राउ - दर्पण संसार

ट्राफिक कुट्ने ९ जना पक्राउ

काठमाडौं / रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन ।

यसैगरी वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन ।

बिहीबार दिउँसो मछिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए ।
मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो ।

सो क्रममा स्थानीयले प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसपछि समेत भिड नियन्त्रण नभएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्