सुदूरपश्चिम सरकार सफल भएको दाबी - दर्पण संसार

सुदूरपश्चिम सरकार सफल भएको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् ।

शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको भनाई छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।

यद्यपी उनले सुदुरपश्चि प्रदेश सरकार गठन भएपछि जनताका थुप्रै आशा र आकांक्षा रहेको र अहिलेपनि विद्यमान रहेको सुनाउँदै ती आकांक्षा पूरा गराउने दिशातर्फ सुदुरपश्चिम सरकार अग्रसर रहेको बताए ।

उनले आफूहरुले संघबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर संघीयता कार्यान्वयनमा अघि बढेको पनि सुनाए । उनले भने,‘राजश्व परिचालन त्यहीअनुसार भैरहेको छ । पुँजीगत खर्च गर्नेमा हाम्रो प्रदेश देशकै दोस्रो प्रदेश बन्यो । अहिलेसम्म हामीले ३२ वटा ऐन पारित गर्यौं । ३७ कार्यविधि बनायौं । १५ वटा निर्देशिका जारी गरेका छौं । चार वटा गठनआदेश बनायौं ।

तीनवटा नियामावली जारी गरेका छौं । हामी यसमा पनि देशको अग्रभागमानै छौं ।’ त्यतिमात्रै होईन, आफूहरुले बजेट कार्यान्वयनमा पनि पारदर्शीता अपनाएको उनले सुनाए । यो बीचमा आफूहरुले वित्तिय सम्मेलनको सफलतापूर्वक आयोजना गरेको र अब छिट्टै लगानी सम्मेलनको आयोजना गरिने पनि उनले जानकारी दिए ।

मन्त्री शाहले पश्चिम सेती, अपर कर्णाली, पञ्चेश्वर आयोजना कार्यान्वयनको लागि संघीय सरकारलाई आग्रह गरिएको पनि सुनाए । त्यस्तै, भारत र चीन दुवैसँग नाका खोल्नको लागि संघीय सरकारलाई अनुरोध गरिएको उनले बताए । संघीयता कार्यान्वयनको लागि आफूहरु ईमानदार भएर लागिरहेको सुनाए ।

उनले भने,‘निर्मला पन्तको दुःखद् घट्ना भयो, अर्को भारतले आफ्नो नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी राख्यो । हामीले तत्काल मन्त्रिपरिषदको बैठक राखेर त्यसको विरोध गर्यौं । हामीले संघीय सरकारलाई पनि यो विवादको समाधानको लागि भारतसँग कुटनीति पहल गर्न आग्रह गरेका थियौं ।’

मन्त्री शाहीले छाउपढी प्रथा उन्मुलनको लागि आफ्नो सरकार गम्भिर रहेको विश्वास दिलाए । उनले भने,‘हामीले यीलगायत केही प्रथालाई कलंकको रुपमा लिएको छ । अहिले यसबारेमा व्यापक जनचेतना भैरहेको छ । सरकारले उन्मुलनको लागि कानूनसमेत बनाएर अघि बढेको अवस्था छ ।’

उनले संविधानले दिएको अधिकारअनुसार आफुहरुले अधिकार लिएको र संघीय सरकारले पनि सोहीअनुसार सहयोग गरिरहेको विश्वास दिलाए । उनले भने,‘अहिलेपनि हक हस्तान्तरण गर्ने कार्यमा संघीय सरकार लागिरहेको छ । हामीले अधिकार पाईरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्