गोकुल बाँस्कोटाको ७० करोड कमिसन काण्ड: विजयप्रकाश मिश्रलाई अख्तियारले बोलायो - दर्पण संसार

गोकुल बाँस्कोटाको ७० करोड कमिसन काण्ड: विजयप्रकाश मिश्रलाई अख्तियारले बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ ।

गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।

यता, मिश्र भने आयोगलाई बुझाउनु पर्ने अडियो डिभाइस लिन जापान आएको बताएका छन् ।

बुधवार एक विज्ञप्ती निकाल्दै मिश्रले अख्तियारलाई बुझाउनुपर्ने अडियो डीभाइस लिन जापान आएको स्पष्ट पारेका हुन् ।

सुरक्षाको कारण जापानमा राखेको अडियो डिभाइस लिन आफू जापानमा रहेको र जापानबाट नेपाल हवाई सेवा खुल्ने वित्तिकै डिभाइस सहित नेपाल आउने मिश्रले बताएका हुन् ।

मिश्रले अख्तियारी प्राप्त अनुसन्धान अधिकृत र आफ्नो बीचमा बेलाबेलामा कुराकानी भएको र आफूले दर्ता गरेको निवेदनबाट यो कुरा स्पष्ट भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्