कोरोना बिमा गर्ने नेपाली ८ लाख ४७ हजार पुगे - दर्पण संसार

कोरोना बिमा गर्ने नेपाली ८ लाख ४७ हजार पुगे

९५ जना संक्रमितले पाए भुक्तानी

काठमाडौं / नेपालमा कोरोना संक्रमण देखिए यता हालसम्म ८ लाख ४७ हजार नेपालीले कोरोना बिमा गरेका छन ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले बीमालेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताएका हुन ।
चापागाइँले सो वापत हालसम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको जानकारी दिए ।

बीमा समितिले ४ वैशाख देखि कोरोना भाइरस (कोभिड-१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो ।

समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो ।

जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो ।  त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ ।

सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भइरहेको छ ।

हालसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेका छन भने करिब २ सय ५० जनाको दावी परेको छ ।

अध्यक्ष चापागाईंका अनुसार एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरि कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको जनाए । तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको संचालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने उनले जनाएका छन ।

एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्त सम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्