आज राती १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा - दर्पण संसार

आज राती १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा

के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं/ काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लामा आज राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको मंगलबार साँझ बसेको संयुक्त बैठकले ३ गते देखि १० गतेसम्म निषेधाज्ञा लगाउने निणर्य गरेको हो ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन । अत्यावश्यक सेवा अन्तर्गत, स्वास्थ्य, सुरक्षा, संचार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधिजन्य सेवा बाहेक अरु संचालन गर्न पाइने छैन ।

यसैगरी अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउँने छैनन । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न पाउने छैनन ।

यसैगरी सबै प्रकारका यात्रुबाहक सवारी साधन बन्द हुने छन भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व संचालन गर्न, मानिसहरु भेला तथा जम्मा हुन, भिडभाड हुन र सभाजुलुस गर्न निषेध हुने छ ।

तर हवाइ उडानबाट विदेश जानेहरुक हकमा पासपोर्ट भिषा, कन्फर्म हवाइ टिकट हुनेहरु सहजीकरण गरेर विमानस्थल जान सक्ने छन । यस समयमा अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य बृद्धी गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गन उपर कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै २ सय ५ जनामा संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा संक्रमितको संख्या २ हजार ५ सय बढी पुगिसकेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक निणर्य गर्न सक्ने अधिकार दिएको थियो ।
बैठकले संक्रमण रोग ऐन, २०२० बमोजिम कोभिड(१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो ।

"

प्रतिक्रिया दिनुहोस्