विपद् कोषमा ४ अर्बभन्दा बढी रकम थन्कियो, बाढीपहिरो पीडितको भने विचल्ली - दर्पण संसार

विपद् कोषमा ४ अर्बभन्दा बढी रकम थन्कियो, बाढीपहिरो पीडितको भने विचल्ली

काठमाडौं । सरकारी विपद् कोषमा ४ अर्बभन्दा बढी रकम मौज्दात छ तर बाढीपहिरोबाट प्रभावितले राहत पाएका छैनन् । झन्डै ७ हजारले प्रभावकारी रूपमा राहत पाउन नसकेको गुनासो गरिरहेका छन् ।

बाढीपहिरोबाट घरबार गुमाएकामध्ये अधिकांशले बिहान र बेलुकी राम्ररी खानसमेत पाएका छैनन् । सरकारबाट गरिएको उद्धार कार्य फितलो भएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ४५ करोड र गृह मन्त्रालयअन्तर्गत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा डेढ अर्बभन्दा बढी रकम मौज्दात भए पनि विपद्वाट उत्पन्न संकटको समयमा सो रकमको परिचालन हुन नसकेको हो । रकमको प्रभावकारी परिचालन हुन नसक्दा प्रभावितहरू समस्यामा परेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले छिटै बैठक बसेर कोष सञ्चालन निर्देशिका परिवर्तन गरी आवश्यक निर्णय गरिने जानकारी दिए ।

यस विषयमा गृहसचिवसँग समेत छलफल भएको र राहत नपाउनेहरूलाई राहतका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट पठाइने तयारी गरिएको कँडेलले बताए ।

कोषले गृहमन्त्रालयअन्तर्गत रहेको विपद् कोषमा रकम दिने र सो रकम गृह मन्त्रालयले जिल्लास्थित कोषमा पठाउनुपर्ने कानुनी प्रावधान छ ।

गृह मन्त्रालयले रकम माग नगरेकाले पनि प्रधानमन्त्री कार्यालयमा रहेको कोष सञ्चालक समितिको बैठक नबसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्