काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले रुकुम, चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्माले पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।
सत्तारुढ दलका सांसद जनार्दन शर्माले ‘छुवाछूतको घटनामा राजनीतिकरण हुन सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउँदै शर्माले दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।
सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्ष दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरिरहे । तर, केही समय दुवै तर्फबाट आरोप–प्रत्यारोप चलिरह्यो ।
विपक्षी सांसदलगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोसित हुँदै उनले आफू त्यहाँको जनप्रतिनिधि भएको र दलित अधिकारको कुरा आफूले पनि राख्न पाउनुपर्ने जिकिर गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले पूर्वगृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।
यसअघि, बैठकको सुरुमै बोलेका कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।
उनले मुलुकलकै इतिहासमा त्रासदीपूर्ण र कहालीलाग्दो जातीय दुर्घटना भएको भन्दै छुवाछूतमुक्त राष्ट्र घोषणा गरी बेपत्ताको छानबिन गरी मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गरे ।
सांसद पार्वतीकुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिवर्तन भएपनि जातीय विभेदको बर्बरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ ? भनी गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।
सांसद रेणुकुमारी गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्