कांग्रेसले सरकारलाई कालो झण्डा देखाउने र अध्यादेश फिर्ता लिन दबाब दिने - दर्पण संसार

कांग्रेसले सरकारलाई कालो झण्डा देखाउने र अध्यादेश फिर्ता लिन दबाब दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सामाजिक सञ्जालमार्फत सरकारलाई कालो झण्डा देखाउने र सरकारलाई दुबै अध्यादेश फिर्ता लिन दबाब बढाउने निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले संसदमा भएका तर सत्तासँग नजोडिएका दलहरुसँग बुधबार सरकारले ल्याएका अध्यादेशका विषयमा छलफल हुने र फिर्ता लिन दबाब बढाइने बताए ।

पदाधिकारी बैठकले सरकारले संविधानको भावना र मर्म तथा लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको समेत ठहर गरेको छ । यस्तै सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रन समेत बैठकले आग्रह गरेको छ ।

सरकारका गलत कामको विरोधका लागि सडकमै उत्रिएर विरोध गर्नु पर्ने अवस्था नरहेको भन्दै कांग्रेसले कोरोना संक्रमणको त्रास र लकडाउनका कारण सरकारविरुद्ध सामाजिक सञ्जालबाटै कालो झण्डा देखाउने लगायका कार्य गर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकरको गलत निर्णयविरुद्ध सामाजिक संजालबाट समेत दबाब बढाइने जानकारी दिंदै मंगलबाट नै सरकारको निर्णयको विरोधमा कालो झण्डासहित विरोधको प्रक्रिया सुरु गरिसकेको जनाए । प्रवक्ता शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘लकडाउनले कहाँ छेक्छ र हेर्नुस् हजारौँ कालो झण्डा सामाजिक सञ्जालमा !’

उनले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डलमा समेत विरोधका शब्द कालो झण्डासहित मेन्सन गरेका छन् । जनता कोरोनाको सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न कालो झण्डा सहितको शब्दमा आग्रह गरिएको छ । ‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा !’

प्रतिक्रिया दिनुहोस्