कोरोनासँग लडिरहेकी ६ महिने बालिका: जसको तस्वीरले दुनियाँ स्तब्ध बनायो - दर्पण संसार

कोरोनासँग लडिरहेकी ६ महिने बालिका: जसको तस्वीरले दुनियाँ स्तब्ध बनायो

एजेन्सी । कोरोना भाइरसको संक्रमणले बृद्धबृद्धा मात्र होइन दुधे बच्चालाई पनि छाडेन । बेलायतमा ६ महिने एक बालिका कोरोना संक्रमित भएको तस्बिर सार्वजनिक भएपछि विश्वभरका मानिसहरु स्तब्ध छन् ।

पहिलेदेखि नै मुटुको समस्यासँग लडिरहेकी बालिका अहिले कोरोनासँग लडिरहेकी छन् । अस्पतालको बेडमा पल्टिरहेकी उनको नाकबाट पाइप जोडेर अक्सिजन दिइएको छ तर उनी हाँसिरहेकी छिन् ।

अर्को तस्बिरमा उनलाई भेन्टिलेटरमा राखिएको छ र उनका चम्किला आँखाले हेरिरहेका छन् । बालिकाको तस्बिर अहिले संसारभर भाइरल बनेको छ ।

बेलायतको एक अस्पतालमा बालिकाको उपचार चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अभिभावकको अनुमतिमा सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन् ।

बेलायतको म्यानचेस्टरकी बासिन्दा उनको सन् २०१९ को डिसेम्बरमा ओपन हार्ट सजरी गरिएको थियो ।

गत शुक्रबार बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनलाई लिभरपुलको एक बालबालिकाको अस्पतालको भेन्टिलेटरमा राखिएको छ।

कोरोनाका कारण उनकी आमा एम्मा बेट्सलाई अस्पतालमा बस्ने अनुमति दिइएको छ। बाबु बेनी बेट्स भने घर फर्किनु परेको छ।

एरिनलाई संक्रमण भएपछि उनका आमाबाबुले कोरोनाबाट आफ्ना बालबालिकालाई जोगाउन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्