देशभरका १९ स्थानमा चल्यो गोलीः बाजुरामा एकको मृत्यु, तीन घाइते - दर्पण संसार

देशभरका १९ स्थानमा चल्यो गोलीः बाजुरामा एकको मृत्यु, तीन घाइते

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मतदानको निर्धारित समय सकिएको छ । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप हुनुको साथै गोली चलेको छ ।

केही स्थानमा मतदान नै स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थान स्थलमा हवाई फायर हुनुको साथै गोली चलेको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा एसएसपी दान बहादुर कार्कीले एघारा जिल्लाको १९ स्थानका गोली चलेको बताए ।

उनका अनुसार प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । त्यस्तै मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, रौतहटको गुजरा(४ गोली चलेको उनले बताए ।

त्यसैगरी बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी–९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका–१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा गोली चलेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको एसएसपी कार्कीले बताए ।

त्यस्तै स्दूरपश्चिम प्रदेशस्थित बाजुरा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ ।

त्यस्तै डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समेत गरी देशभर कूल १९ स्थानमा गोली चलेको छ ।

उता, बाजुराको एक मतदान स्थलमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ ।त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । त्यस्तै प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् ।

घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्