गायिका कनिकालाई कोरोना फैल्याएको भन्दै अदालतमा मुद्दा - दर्पण संसार

गायिका कनिकालाई कोरोना फैल्याएको भन्दै अदालतमा मुद्दा

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् ।

उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा भोग्नुपरेको छ । गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको हो ।

आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।

अदालतले उनलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको छ । अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी थिइन । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी थिइन ।

तर लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । योबीचमा उनीसँग हेलमेल भएका ६ सय जनाभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बस्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्