माउन्टेन एकेडेमीमा मन्त्री आलेको ठाडो हस्तक्षेप, पत्तै नदिइ अध्यक्ष लाक्पा फुटी बर्खास्त - दर्पण संसार

माउन्टेन एकेडेमीमा मन्त्री आलेको ठाडो हस्तक्षेप, पत्तै नदिइ अध्यक्ष लाक्पा फुटी बर्खास्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले केही प्रशंसनीय काम गरेर तारिफ कमाइरहे पनि विभिन्न निकायमा गरिएको नियुक्ति प्रक्रियाले विवादमा तानिएका छन् । उनले मनोमानी र प्रक्रिया मिचेर केही निकायमा धमाधम नियुक्ति दिन थालेपछि आलोचित बनेका छन् ।

संस्थामा गरेको योगदानको कुनै मूल्यांकन नै नगरी र कार्यकाल पूरा नभइ नेपाल माउन्टेन एकेडेमीकी अध्यक्ष लाक्पा फुटी शेर्पासहित सबै पदाधिकारीलाई बर्खास्त गरेर नयाँ नियुक्ति गरेका छन् ।

अध्यक्ष शेर्पा बाबुको निधन भएर घर सोलुखुम्बु गएको बेला उनलाई पदबाट हटाएर अर्कोलाई नियुक्त गरेका हुन् । अध्यक्षसहित एकेडेमीका सदस्यहरु र कार्यकारी निर्देशकसमेतलाई हटाएर नयाँ नियुक्त गरिएको हो । अध्यक्षको कार्यकाल एक वर्ष बाँकी थियो भने सदस्यहरुको दुई वर्ष बाँकी रहेको जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका उनीहरुलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै स्पष्टीकरण नै नसोधी बर्खास्त गरिएको बताइएको छ ।
लाक्पाफुटीकै अगुवाइमा स्थापना भएको एकेडेमीमा सरकारले नाङ्गो हस्तक्षेप गरेको सरोकारवालाहरुको गुनासो छ । अनुभव नै नभएका, मन्त्रीसँग निकट भएका र आर्थिक सेटिङका आधारमा नयाँ नियुक्ति गरिएको गुनासो सार्वजनिक भएको छ ।

एकेडेमीको नयाँ अध्यक्षमा वाङदी छिरिङ शेर्पा, कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईं, सदस्यहरुमा मिङमा दोर्ची शेर्पा, निमा दोर्ची शेर्पा, निमा शेर्पालाई नियुक्त गरिएको हो । यसअघि कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली थिए । एकेडेमी पर्यटन मन्त्रालय मातहतको संस्था हो । आलेले पूर्ववर्ती सरकारको पालामा नियुक्त भएकाहरुलाई हटाएर नयाँ नयाँ नियुक्त गरेका हुन् । एकेडेमीमा विभिन्न मन्त्रालय र पर्वतारोहणसम्वद्ध संस्थाका प्रतिनिधि पनि सदस्य रहने व्यवस्था छ ।

सीमित तालिमकै भरमा चलेको पर्वतारोहण क्षेत्रमा लाक्पा फुटीले नै विश्वविद्यालयस्तरको ‘वार्षिक शैक्षिक कार्यक्रम‘ भित्र्याएकी हुन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान‘ (नेपाल माउन्टेन एकेडेमी) स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको छ । एकेडेमीमा २०१७ देखि स्नातक तहको पढाइ भइरहेको छ भने २०२० जनवरीदेखि ‘साहसिक पर्यटन‘ विषयमा मास्टर डिग्री अध्यापन सुरु भएको छ ।

विश्वकै महँगो र धेरैको रोजाइमा पर्ने ‘माउन्टेन टुरिजम‘ का लागि यी कोर्स उपयोगी मानिन्छन् । लाक्पाफुटीकै पहलमा नेपालमै पहिलोपटक स्की तालिम पनि शुरु भइसकेको छ । पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिमा १२ वर्षसम्म कार्यकारी निर्देशक भइसकेकी शेर्पाको योगदानलाई कदर गर्दै यसअघिको सरकारले अध्ययक्षमा नियुक्त गरेको थियो ।

उनले एकपटक पनि स्पष्टीकरण नसोधी बर्खास्त गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । उनले अहिले सर्वोच्च अदालतमा समेत पुनः नियुक्त गरी पाऊँ भनी रिट दायरसमेत गरेकी छिन् । सामान्यतया बर्खास्तीका लागि तीनपटकसम्म स्पष्टीकरण सोधिने गरिन्छ । तर, मन्त्रालयले एकपटक पनि स्पष्टीकरण नसोधी एकैपटक टिप्पणी र आदेश उठाएर बर्खास्त गरेको हो ।

चैत २४ गते अध्यक्ष शेर्पासहित कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र सदस्यहरु छिरिङ जाङ्बु शेर्पा, पूर्णकुमार शेर्पा र टीकाराम गुरुङलगायतका सदस्यहरुले विकास समितिको कानुनविपरीत कामकारबाही गरेको र सम्पूर्ण पदाधिकारीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भनी गुनासो आउने गरेकाले कारबाही हुनुपर्ने देखिएको टिप्पणी एउटै माइन्युटमा उठाइएको थियो । सोही माइन्युटमा माथि उल्लेखित व्यहोराबमोजिम अध्यक्षलगायत पदाधिकारीहरुलाई कारबाही गरी कुनै प्रतिस्पर्धा र छलफल नै विना नयाँ नियुक्ति गरिएको हो । नयाँ नियुक्तिका लागि मन्त्री आलेले ठाडो तोक आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्