यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अभियानका लागि लिजा लिम्बुद्वारा आर्थिक सहयोग - दर्पण संसार

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अभियानका लागि लिजा लिम्बुद्वारा आर्थिक सहयोग

काठमाडौं । बेलायत बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बुले सोसाइटीलाई ४५ हजार रुपैंयाँ नगद सहयोग गरेकी हुन् ।

सोमबार सोसाइटीको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यकारी प्रमुख मनिषा ढकाललाई उक्त नगद हस्तान्तरण गरिएको हो । समूदायको मुद्दा तथा अभियानलाई सामाजिक संजालमार्फत अघि बढाउन सहयोग पुग्ने हिसाबले इन्टरनेट खर्चवापत उक्त रकम प्रदान गरेको समाजसेवी लिम्बुले जानकारी दिइन ।

यसअघि अनाथ बालबालिका, विपन्न परिवार, दुःखी र असहायहरुलाई सहयोग गर्दै आएकी लिम्बुले आगामी दिनमा समूदायको अभियानमा आफ्नो सहयोग रहने प्रतिवद्धता पनि जनाइन । कार्यकारी प्रमुख ढकालले लिम्बुको सानो सहयोगले समूदायको अभियानमा टेवा मिल्ने र विश्वभर छरिएर रहेका नेपालीहरुमा पनि समूदायको अभियानमा साथ दिनुपर्छ भन्ने प्रेरणा मिल्ने बताइन ।

सन् २०१८ देखि बेलायतमा बस्दै आएकी समाजसेवी लिम्बु समाजमा यौनिक तथा लैङ्गिक समुदायका व्यक्तिको जन्म हुनु प्राकृतिक भएकाले सामान्य रुपमा लिनुपर्ने धारणा राखिन । बेलायत तथा अमेरिका जस्ता देशहरुमा एलजीविटीआइ समूदाय स्वतन्त्र र कानूनी अधिकार प्राप्त भएकाले सामान्य लिने गरेको साथै नेपालमा पनि समूदायका व्यक्तिहरुलाई समान अधिकार हुनुपर्ने बताइन ।

 

प्रतिक्रिया दिनुहोस्