राष्ट्रपति भण्डारीले भनिन- 'सिंगो धर्ती युद्ध मैदान जस्तै भयो, हामी विजयी हुन्छौं’ - दर्पण संसार

राष्ट्रपति भण्डारीले भनिन- 'सिंगो धर्ती युद्ध मैदान जस्तै भयो, हामी विजयी हुन्छौं’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैमा अपिल गरेकी छिन् ।

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै राष्ट्रपति भण्डारीले यस लडाइँमा मानव जाति विजयी हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’

हाम्रो संयमले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भन्दै राष्ट्रपति भण्डारीले सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको दावी गरिन् ।

सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको प्रशंसा गर्दै उनले भनिन, तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ ।’

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै महशूस भएको भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन् ।

कोरोनाबाट संक्रमित भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई आह्वान पनि गरेकी छन् ।

संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले लकडाउन गरेको भन्दै उनले सतर्कता नअपनाएमा संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्