कार्यकर्ता र मतदाताको माया नै मेरो वरीयता हो - दर्पण संसार

कार्यकर्ता र मतदाताको माया नै मेरो वरीयता हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले कायम गरेको बरीयताका विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । शनिबारको केन्द्रीय समिति बैठकले २०औं नम्बरको वरीयतामा राखेपछि कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरीयता कायम भइसकेको प्रतिक्रिया दिएका हुन् ।

१४ औं महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताए । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको भनाइ थियो ।

कोइरालाले सभापतिमा हार व्यहोर्नुमा आफ्नो पनि कमजोरी रहेको बताए । डा.शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइबहिनी तथा नेताहरूलाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

‘बीपी कोइरालाले मेरा बुवालाई लेखेको पत्र मैले मेरा भाइबहिनीलाई बुझाउन सकिनँ,’उनले भने, ‘पराजयको कारण एउटा त्यो हो जस्तो पनि लाग्छ ।’

कोइरालाले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने समेत बताए । निर्वाचन आयोगले वैशाख २० गतेभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकाले आफू त्यसमै व्यस्त हुने बताए ।
विधानमै पराजित उम्मेदवार केन्द्रीय कार्यसमितिमा रहने उल्लेख गरिएको बताउँदै नेता कोइरालाले केन्द्रीय कार्यसमितिको अबको बैठकमा सहभागी हुने बताए । यता, कांग्रेसको विगतको अभ्यास र परम्पराविपरीत सभापति शेरबहादुर देउवाले डा.शेखरलाई २०औं वरीयतामा राखेको भन्दै टिप्पणी शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्