पाँच बर्षको आफ्नै कार्यकालसँग आत्तिए देउवा, उत्साहित भए डा.शेखर कोइराला - दर्पण संसार

पाँच बर्षको आफ्नै कार्यकालसँग आत्तिए देउवा, उत्साहित भए डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चर्को रस्साकस्सी चलिरहेको छ । सभापतिमा उम्मेदवारी दर्ता गराएका ६ जनाले पार्टीप्रतिको लगाव र निष्ठाका बारेमा बहस भइरहेको छ । देशभरबाट काठमाडौंमा आएका प्रतिनिधिहरुले कांग्रेससँगै देशको भविष्य निर्माणको जिम्मा कसलाई सुम्पिएर गाउँ फर्किने भन्नेमा अन्योलमा छन् ।

सभापतिका बलिया उम्मेदवार डा.शेखर कोइराला र शेर बहादुर देउवा साथै सभापतिकै दौडमा रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ मध्ये कसलाई पार्टीको नेतृत्व सुम्पने भन्नेमा प्रतिनिधिहरुबीच बहस चलिरहेको छ । यद्यपी, पार्टीको नेतृत्व लिइसकेका र परीक्षण भइसकेका शेर बहादुर देउवा र नयाँ अनुहार र नयाँ जाँगरका साथ मैदानमा उत्रिएका डा.शेखर कोइराला कसलाई रोज्ने भन्नेमा प्रमुख मुद्दा यतिबेला प्रतिनिधिहरुमाझ चर्चामा छन ।

बहुसंख्यक प्रतिनिधिहरुले देउवाको विगतको कार्यशैली र कार्यदक्षताका बारेमा प्रश्न उठाएका छन् । १३औं महाधिवेशन पछि कांग्रेसको नेतृत्व सम्हालेका देउवाले पार्टीको आन्तरिक जीवन र तीन तहका निर्वाचनमा पार्टीलाई कुट स्थानमा उम्भाए भन्ने विषय यतिबेला समिक्षा हुन थालेको छ । विगतमा भएको निर्वाचन परिणाम र त्यसको तथ्याकंलाई पन्नामा उतारेर प्रतिनिधिहरुले समिक्षा गर्न थालेका छन् । काठमाडौका होटलमा बसेर विगतका निर्वाचनहरुमा वर्तमान सभापति देउवाले नेतृत्व गरेको पार्टी कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले ब्यहोरेको लज्जास्पद हारलाई विशेष चासोको साथ हेरिएको छ ।

तथ्यांक हेर्दा उक्त निर्वाचनहरूमा कांग्रेसको नराम्रो पराजय भएको देखिन्छ । ३५,५३८ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्दा जम्मा ११,५२० जनाले मात्रै विजय हासिल गर्न सकेको र २४.०१८ जनाले पराजय भोगेको देखिन्छ । निर्वाचन आयोगबाट प्राप्त तथयकंहरुबाट तयार पारिएको प्रतिवेदनले त्यही देखाएको छ ।

कुनैपनि निर्वाचनको हार र जित त्यो राजनीतिक पार्टीको नेतृत्वको कार्यकुशलता, नेतृत्व क्षमता, राष्ट्रप्रतिको उसको दृष्टिकोण, राष्ट्रियता र सार्वभौमिक अखण्डताका विषयमा उसले लिएका अडानहरू, विकास र सम्मृद्धिमा उसले हासिल गरेका उपलब्धीहरू, सुशासनप्रति उसले देखाएको निष्ठा, नेतृत्वको आर्थिक अनुशासन र स्वयं उसको जीवनशैलीप्रति आम जनताले बनाएको दृष्टिकोणबाट थप प्रष्ट भएको देखिन्छ ।

विगतको निर्वाचन परिणामको तथ्याकंलाई नियाल्दा कांग्रेसका सभापतिदेउवाको नेतृत्वप्रति जनताले भरोसा र विश्वास नगरेको र उनले जनतामा आशाको लहर पैदा गर्न नसकेको विषय अगाडि आएको छ । जसका कारण कांग्रेसबाट उम्मेदवार बनेका करीब २४,००० जनाले पराजय व्यहोर्नु परेको छ । उक्त २४,००० जनामध्येबाटै अलिहे कांग्रेसको प्रतिनिधि बनेर काठमाडौंमा नयाँ नेतृत्व चयनका लागि उत्रिएका छन् । डा।शेखरका समर्थकहरुले पटक पटक असफल भैसकेको नेतृत्वलाई पुनः पार्टीको बागडोर दिइयो भने त्यो आफ्नै खुट्टामा बन्चरो हानेसरह हुनेछ भन्ने बहसलाई अग्रभागमा उतारेका छन् ।

एक जना समर्थक भन्छन्,‘नेपाली कांग्रेसको नेतृत्वको पछाडी यो देशको नेपाली काग्रेस पार्टी,सिगो लोकतान्त्रिक आन्दोलन, लाखौं कार्यकर्ता, आम जनता र विशेष गरी आगामी निर्वाचनमा सहभागी हुने करीब ३५ हजार जना उम्मेदवारको पनि भविष्य गाँसिएको छ । तसर्थ पटकपटक परीक्षण भई असफल साबित भइसकेको नेतृत्वको ठाउँमा पार्टी र आम जनताको पत्याएका आशाको किरण जगाउन सक्ने गतिशील र युवाहरुको बाहुल्य रहेको डा।शेखर कोईरालाको टिमलाई मतदान गर्न आग्रह गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्