सांस्कृतिक संघको केन्द्रीय सदस्यमा गायक मोहन राई - दर्पण संसार

सांस्कृतिक संघको केन्द्रीय सदस्यमा गायक मोहन राई

काठमाडौं । गायक मोहन राई नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कलाकारिता क्षेत्र मार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २०(च)बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाएका छन् । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गरे ।

संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाए ।

नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरुले रचना गरेका गीतहरु गाएर चर्चा कमाएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरु गाउँदै आएका छन् ।

इलामको रोङ गाउँपालिका निवासी राईका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसकेका छन् । उनले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट २०७१ सालमा विमोचन समेत गराइसकेका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट विभूषित भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरुमा मोहनले स्वर भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्