नेपाल भ्रमण गर्न मोदीलाई देउवाको निम्तो, भारतमा देउवालाई निम्तो - दर्पण संसार

नेपाल भ्रमण गर्न मोदीलाई देउवाको निम्तो, भारतमा देउवालाई निम्तो

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिई बिहीबार बिहान स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले उक्त जानकारी गराएका हुन् ।

उनले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेको छु । उहाँले पनि मलाई भारत आउनुहोस भन्नुभएको छ । उहाँलाई मैंले नेपालका धार्मिक स्थलहरुको भ्रमणका लागि भए पनि नेपाल आउन अनुरोध गरेको हुँ ।’ सम्मेलनमा मोदीसँग भएको भेटवार्ताको जानकारी गराउँदै देउवाले नेपालप्रति भारतको सद्भाव रहेको बताए । सम्मेलनमा देउवा र मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताए । ब्रिटिस सेनामा गोर्खाहरुको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको पनि उनले सुनाए । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्