दशैं मनाउन चार लाख बढीले छाडे काठमाडौं - दर्पण संसार

दशैं मनाउन चार लाख बढीले छाडे काठमाडौं

काठमाडौं । दशैं शुरु भएसँगै विहीबारदेखि उपत्यका छोड्नेको संख्या बढ्न थालेको छ । दशैंका लागि घर जानेहरुको लर्को लागिरहेका बेला दशैंको पहिलो दिन विहीबार उपत्यका बाहिरिनेको संख्या थप बढेको हो ।

महानगरीय ट्राफिक महाशाखाले दशैँकै लागि भनेर विहीबारसम्ममा स्थलमार्गबाट उपत्यका छोड्नेको संख्या चार लाख नाघेको जनाएको छ । यसमा प्लेन प्रयोग गर्नेको संख्या समावेश छैन । महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले ११ गतेदेखि आजसम्म चार लाख १२ हजार ७३ जनाले गाडीबाट उपत्यका छाडेको जानकारी दिए ।

दासका अनुसार उपत्यका प्रवेश गर्नेको संख्या पनि उत्तिकै छ । सोहि अवधिमा तीन लाख ८७ हजार छ सय एक जना उपत्यका प्रवेश गरेका छन् । दशैँमा घर जानेको संख्या बढ्दा सार्वजनिक सवारी साधनमा अत्यधिक भीडभाड बढिरहेको भन्दै महाशाखाले चेकजाँचमा कडाइ गरेको छ । महाशाखाका प्रवक्ता दासले सीट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको र अटेर गरे कारवाही हुने जानकारी दिए ।

दैनिक ४० देखि ५० वटा सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनको भनाइ छ। त्यस्ता सवारी साधनलाई आवश्यक कारवाही गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्