डडेल्धुरामा कांग्रेस नेताहरुलाई कालो झन्डा, ११ दिनदेखि जारी रिले अनशन स्थगित - दर्पण संसार

डडेल्धुरामा कांग्रेस नेताहरुलाई कालो झन्डा, ११ दिनदेखि जारी रिले अनशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डाक्टर शेखर कोइराला र गुरुराज घिमिरेलगायतका नेताहरु डडेल्धुरा पुगेका छन् ।

उनीहरु त्यहाँ पुगेपछि विगत ११ दिनदेखि कांग्रेस कार्यकर्ताले जारी रहेको रिले अनशन स्थगित भएको छ । काङ्ग्रेस डडेल्धुराका जिल्ला उपसभापति करुणाकर भट्टका अनुसार शीर्ष नेताहरुले माग सम्बोधन गर्न पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको हो ।

क्रियाशील विवाद कायम रहेको अवस्थामा संस्थापन पक्षले गत भदौ २५ गते जबरजस्ती वडा अधिवेशन सम्पन्न गरेपछि अधिवेशन खारेजको माग गर्दै रिले अनशन शुरु गरिएको थियो ।
नेतात्रय डडेल्धुरा पुग्दा शेरबहादुर देउवा निकटक कार्यकताहरुले कालोझन्डा देखाएका थिए । संस्थापनइतर समूह अर्थात रामचन्द्र पौडेल पक्षले गरेको सभामा सभापति देउवा पक्षका कार्यकर्ताले कालोझन्डा देखाउँदा झडपको अवस्था सिर्जना भएको नेविसंघ पूर्वअध्यक्ष केशब सिंहले जानकारी दिए ।

सभामा सम्बोधन गर्ने क्रममा नेता डा. शेखर कोइरालाले कालो झन्डा देखाउनेहरुसँग आफू नडराउने बताए । केही मानिसले कालो झन्डा देखाए पनि कोही कांग्रेस त्यसबाट नडराउने उनको भनाइ थियो । कांग्रेस लोकतान्त्रिक पार्टी भएकोलेले कालो झन्डा देखाउनेहरुलाई स्वागत गर्ने बताए ।

‘डडेल्धुराको टुँडिखेलमा गिरिजाप्रसाद कोइरालालाई पनि कालो झन्डा देखिइएको थियो। उहाँ तर्सनु भएको थिएन। डराउनु भएको थिएन। भाग्नुभएको थिएन। कालो झन्डा देखाउनेलाई हामी स्वागत गर्न चाहन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्