युरोप उपसंयोजकमा दयानिधि सापकोटालाई समर्थन गर्दै ललित न्यौपानेद्वारा उम्मेद्वारी फिर्ता - दर्पण संसार

युरोप उपसंयोजकमा दयानिधि सापकोटालाई समर्थन गर्दै ललित न्यौपानेद्वारा उम्मेद्वारी फिर्ता


लण्डन । एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दिएका ललित न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन् ।

उनले अर्का युरोप उपसंयोजकका उम्मेदवार दयानिधि सापकोटालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका हुन् ।अब ललित न्यौपानेले आइसीसीको सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।


को हुन् दयानिधि सापकोटा ?

बेलायतको नेपाली समुदायमा ‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको परिचय बनाएका दयानिधिको विगत–वर्तमान, व्यवसाय र एनआरएन अभियान बडो रोचक छ । बेलायतको लेस्टरमा दुई रेष्टुरेन्टका मालिक हुन् उनी । सापकोटाको सन् २०१३ देखि सञ्चालित इटालियन रेष्टुरेन्ट ‘ओजी’ र लेस्टरमै नेपाली रेष्टुरेन्ट गोर्खा एम्बेसी चालु छन् । उनी जति कमाउंछन्, समाजलाई त्यति नै दान गर्छन् । शायद चन्दा दिन नाइं भन्न नसक्ने भएर होला, आम्दानीको ठूलो हिस्सा च्यारिटीमै सकिन्छ । बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । जर्मनी जानु आफ्नो वाध्यता र रहर दुवै भएको स्मरण गर्छन् दयानिधि । 
उनले करिब १५ वर्ष जर्मनीमा बिताए ।

‘जर्मनी बसाइकै क्रममा पनि मैले आफूले पढेको विद्यालयलाई प्लस टु हुंदै क्याम्पससम्म बनाउन भवन निर्माण, संरचना र अन्य ‘लजिस्टिक’ सहयोगका लागि पहल गरें । जर्मनी रहंदा यूरोपका विभिन्न देश जाने र आफ्नो अनुभव संगाल्ने अवसर मिल्यो’, उनी स्मरण गर्छन् । सन् २००६ अक्टोबर १ मा बेलायत आएपछि युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा बुझ्न पाएको उनी बताउंछन् । बेलायत अरु युरोपियन देशहरु भन्दा बहुआयामिक, प्रजातान्त्रिक र बहुधार्मिक लागेकाले यहीं बसेर रोजगारीतर्फ लागेको उनले सुनाए । ‘म संग करिब २५ वर्ष ‘इटालियन ग्यास्ट्रोनोमी’ को अनुभव भएकाले जर्मनी बस्दा पनि इटालियन रेस्टुरांको प्रोपाइटर थिएं । त्यसैको अनुभव लिएर सन् २०१३ मा मैले यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोल्न सफल भएं’, दयानिधि भन्छन्, ‘अहिलेसम्म यही पेशामा आवद्ध छु । नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतिपूर्ण पेशामा म सफल भइरहंदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।’ उनी विद्यार्थी जीवनमा पनि सामाजिक, आर्थिक र राजनीतिक विषयमा चासो दिने गर्दथे । त्यसै कारण यूकेको आफ्नो प्यारो शहर लेस्टरमा नेपाली समाजलाई सशक्त बनाउने अभियानमा जुटे उनी ।

‘त्यसमा मेरा सहकर्मी साथीहरुले अहोरात्र सहयोग गर्नुभयो । परिणामतः मैले सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकाल अध्यक्ष भएर ४ वर्ष काम गर्ने सौभाग्य पाएं । म अहिले पनि सबै साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दै नमन गर्न चाहन्छु’, उनी भन्छन् । ततपश्चात साझा नेपाली समाज गठन गर्नका लागि फेरी पनि सामुदायिक नेताहरुबाट जिम्मेवारी पाएअनुसार 
संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर काम गर्ने सौभाग्य पाए उनले । जसमा सृजनशील लेस्टर नेपाल यूके, नटिङघम नेपाली समाज यूके, पिटरबरो नेपाली समाज यूके, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्डको पहलमा साझा नेपाली समाज स्थापना भयो र उनले त्यसको आपतकालीन राहतकोष संयोजक भएर काम पनि गरे । त्यस्तै उनले आफ्नो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क यूकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाए । यसले गर्दा समाजमा अझ काम गर्ने उर्जा थपिएको उनी बताउंछन् ।

‘म नेपाली समुदायको माया देखेर आफूलाई भाग्यमानी पनि ठान्छु । नेपाल ब्रिटेन डटकमले हरेक वर्ष बेलायतका १० चर्चित व्यक्ति छान्ने क्रममा सन् २०१४ मा दश चर्चित व्यक्तिमध्ये म पनि पर्न सफल 
हुंदा र समाजमा गरेका कामहरुको मुल्यांकन हुंदा गौरवान्तित महशुस गरेको छु’, उनले भने । दर्जनौ सामाजिक संस्थाहरूमा काम गरेर अनुभव हासिल गरेका दयानिधिले गैर आवासीय नेपाली संघको युरोप क्षेत्रमा आफ्नो अनुभव र सक्रियतालाई निरन्तरता दिन चाहेको बताए ।

"

प्रतिक्रिया दिनुहोस्