कलाकार करुणा पाण्डे कांग्रेसको सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा - दर्पण संसार

कलाकार करुणा पाण्डे कांग्रेसको सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा

काठमाडौं । करुणा पाण्डे उदयमान कलाकार हुन् । उनी व्यवसाय र कांग्रेसको राजनीतिमा पनि सक्रिय छिन् । नेविसंघमा सक्रिय राजनीति गर्दै कांग्रेसमा आएकी उनी १४औं महाधिवेशनमा एकाएक खोजिएको पात्रका रुपमा देखा परिन । काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको इकाइ सह सचिब भएर अनुभव संगालेकी उनलाई कांग्रेसप्रति वाल्यकालदेखिकै मोह थियो । कांग्रेसप्रति उनको लगाव यस पटक नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाले सम्मान गरेको छ ।

यसैबर्ष मात्र क्रियाशील सदस्यता लिएकी उनी नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले चयन भएपछि कांग्रेसको सक्रिय राजनीतिमा दौड्ने रहर जागेर आएको छ । ‘मेरो पारिवारीक पृष्ठभूमि कांग्रेस हो । रुखलाई भोट हाल्न थालेको दशकौं वित्यो । मैंले कांग्रेसको इतिहास बुझेको छु र अब कांग्रेसमा युवालाई अवसर दिनुपर्छ भन्ने लाग्छ’, उनले भनिन्, ‘तर हाम्रो राजनीतिमा कपाल फुलेका पाका र पैसावालले मात्र अवसर पाउनुपर्छ भन्ने छ । यस्तो परिपाटी युवाहरुले नै अन्त्य गर्नुपर्छ ।’

उमेरले २७ टेकेकी उनी करिब १४ बर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिइन । उको सक्रियतालाई आफू जन्मेको गाउँ खैरेनीटार कांग्रेसले उचित सम्मानका साथ अवसर प्रदान गरेको छ । तादी गाउँपालिकाका पार्टी सभापति हेमन्त सिटौलाले कलाकारिता र सामाजिक काममा करुणाको सक्रियतालाई देखेर कांग्रेसको क्रियाशील सदस्यता दिलाएका हुन् । ‘म कलाकारितासँगै समाजसेवा पनि गरिरहेकाले अब कांग्रेससँग जोडिन चाहेको हुँ । मेरो पेशा र व्यवसायले पार्टीलाई पनि फाइदा पुगोस भन्ने लक्ष्य हो । किनकी राजनीति भनेको पनि समाजसेवा हो । मेरो लक्ष्य अब महाधिवेशन प्रतिनिधि विजयी भएर कांग्रेसको सक्रिय राजनीतिमा स्थापित हुने दृढ इच्छा छ ।’

करुणा आफ्नो जिल्ला नुवाकोटका नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशसरण महत, बहादुरसिंह लामा, केदारनरसिंह केसीलगायत नेताहरुबारे जानकार छिन् । तर नेताहरुको चिल्ला मसिना भाषणले मात्र गाउँको मुहार फेरिन नसक्ने बताउँछिन् । नुवाकोटबाट १४औं महाधिवेशनका लागि कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएर आउने लक्ष्य लिएकी उनी गाउँका नेता तथा कार्यकर्ताहरुसँग नियमित सम्पर्कमा रहेको सुनाइन ।

विभिन्न फेसन सो तथा मोडलिङ गरिसकेकी करुणाले अभिनय गरेका करिब १२ वटा म्यूजिक भिडियो पनि छन् । ‘जय शम्भो’ चलचित्रमा डेब्यू गरेकी उनको अर्को चलचित्र ‘तिम्रो हुने कहिले’ रलिज हुने तयारीमा छ । कलाकारितासँगै हारपिक, फिनेल, प्याडलगायतको उत्पादन गर्ने कारखाना चलाइरहेकी उनी विपतमा परेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीहरु पनि निःशुल्क उपलब्ध गराइरहेकी छिन् ।

‘मेरो सक्रियता गाउँमा रहनुभएका आफन्त तथा शुभेच्छुकहरुले नियालिरहनु भएको रहेछ । लामो समयपछि एक्कासी वडा अधिवेशनमा पुग्दा सबैले सान्तवना दिनुभयो । अगाडि बढ्न हौसला दिनुभयो । जहाँ बसेपनि गाउँको सेवा गर्न र कांग्रेसमा सक्रिय हुन सुझाव दिनुभयो,’ करुणाले गाउँ पुग्दाको अनुभव सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्