नेकपा ‘एस’ कम्युनिस्ट आन्दोलनबाट उदाएको नयाँ ताराः माधव नेपाल - दर्पण संसार

नेकपा ‘एस’ कम्युनिस्ट आन्दोलनबाट उदाएको नयाँ ताराः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।

शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएकाहरू ढिलोचाँडो एकीकृत समाजवादीमा आउने बताए ।

उनले भने, ‘क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अल्मल्लिएका होलान्, असल भावना भएका मानिसहरू पनि भ्रमवश बसिरहेका होलान् । ति व्यक्तिहरूले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरूलाई हामी स्वागत गर्नेछौं ।’

अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए ।

उनले भने– ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गिय संगठनहरू रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन ।’

अध्यक्ष नेपालले व्यवसायीहरूलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गरे । व्यवसायीहरूलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पु¥याउन उनको आग्रह छ ।

नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने बताउँदै पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको पनि बताए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।

उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्