कोरोना भाइरसको परीक्षण क्षमता बढाएर तत्काल देशभर प्रयोगशालाहरु थप्नुपर्छ : दिपक भट्टराई - दर्पण संसार

कोरोना भाइरसको परीक्षण क्षमता बढाएर तत्काल देशभर प्रयोगशालाहरु थप्नुपर्छ : दिपक भट्टराई

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका महामन्त्री दिपक भट्टराईले कोरोना भाइरस नियन्त्रणका लागि देशभर भाइरस परीक्षण क्षमताको दायरा बढाउन र प्रयोगशालाहरुको उचित ब्यवस्थापन गर्न माग गरेका छन् ।

मुलुकमा हाल जारी लकडाउन संक्रमण फैलिन नदिने उपाय मात्र हो तर उपचार होइन भन्दै उनले सरकारले संक्रमितहरुलाई कुरेर मात्र बसिरहेको तर पहिचान गर्न नसकेको आरोप लगाए ।

हामीसँगको कुराकानीमा उनले भने,‘यस्तो असमान्य अवस्थामा सरकारले एकसय जनाको पनि उपचार गर्न सक्ने अवस्था निर्माण गरेको छैन, प्राप्त सहयोगलाई सक्दो सदुपयोग गरेर यसको समाधान गर्नु तत्कालिन आवश्यक्ता हो ।’

विदेशबाट आएका नेपालीहरुको अभिलेख दुरुस्त राख्न, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्थालाई पनि विशेष ख्याल गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरको अवस्था दयनीय भएको भन्दै उनले मजदुर र घर जान नपाएर सहरमै थुनिएका विद्यार्थीहरुका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

कोरोना नियन्त्रणका नाममा भ्रष्टाचारको गन्ध फैलिन थालेकाले यसको नियन्त्रण र सूचना साथै जनचेतनाको स्तर बढाउन पनि उनले माग गरे । कुनै समस्यामा परेका देशभरका विद्यार्थीहरुको सहयोगका लागि नेविसंघ तयारी अवस्थामा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्