झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग - दर्पण संसार

झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गरिएको छ । त्यस्तै उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णय खारेज गर्न पनि रिटमा माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिट गरेको यो रिट भदौ ३ गते न्यायाधीश दीपककुमार कार्कीले खारेज गरिदिएपछि उक्त रिट दर्ता भएको हो ।

मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनाल हाल भारतको एपोलो अस्पतालमा उपचार गराइरहनु भएको छ । उनको उपचारका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३१ लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्