रिले अनसन तोडेर देशका ७७ वटै जिल्लामा भदौ १८ गते अधिवेशन गराउने सहमति - दर्पण संसार

रिले अनसन तोडेर देशका ७७ वटै जिल्लामा भदौ १८ गते अधिवेशन गराउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले देशका सबै वडाहरुमा एकैदिन अधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

शनिबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग भएको छलफलपछि भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी सहमति जुटेको सिंहले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेपछि आफूहरुले आन्दोलनरत पक्षसँग छलफल गरी निष्कर्षमा पुगिएको नेता सिंहले जानकारी दिए ।

सभापति देउवासँग भएको छलफलपछि पौडेल पक्षले शनिबार आफुनिकटका नेता र जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा छलफल गरेको हो । उक्त छलफलमा देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिएका हुन् ।

उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए।

यता पार्टीले ४८ जिल्लाका कृयाशीलको नाम सार्वजनिक गरिसकेको छ र अरु जिल्लाको केही दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ। एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनेगरी सहमति जुटेको छ ।

क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा सहमति जुटेको नेता सिंहले बताए । साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उसाहका साथ अधिबेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन आग्रह समेत गरे ।

शुक्रबार साँझ देउवालाई भेट्ने निर्णय भएअनुसार पौडेल पक्षका नेताले देउवालाई भेटेर जिल्ला सभापतिको मागको सम्बोधन गर्न र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए ।

कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्। त्यस्तै शनिबार जिल्ला सभापतिहरूको धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेको छ । छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु तथा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्