भारतीय सुरक्षाकर्मीले तुइनको चुडाउँदा नदीमा बगेका जयसिंहको परिवारलाई १० लाख रुपैंयाँ - दर्पण संसार

भारतीय सुरक्षाकर्मीले तुइनको चुडाउँदा नदीमा बगेका जयसिंहको परिवारलाई १० लाख रुपैंयाँ

काठमाडौं । महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा धामी महाकालीमा खसेका थिए । बेपत्ता धामीको खोजी जारी रहेको जनाइएको छ । उक्त घटनाको छानविनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले अझै प्रतिवेदन बुझाइसकेको छैन ।

यस्तै, सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्