तेस्रोलिङ्गी समूदायले मनाए १८ औं गाईजात्रा पर्व, उठ्यो अधिकारको आवाज - दर्पण संसार

तेस्रोलिङ्गी समूदायले मनाए १८ औं गाईजात्रा पर्व, उठ्यो अधिकारको आवाज

काठमाडौं । विगत दुई दशकदेखि आफ्नो अधिकारका लागि आवाज उठाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी/समलिङ्गी) यसबर्ष पनि आफ्ना अधिकारको माग राख्दै गाईजात्रा पर्व मनाएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाज(व्लू डाइमन्ड सोसाइटी)ले सोमबार १८ औं गाईजात्रा मनाएको हो । कोभिड संक्रमणलाई मध्यनजर राख्दै देशका विभिन्न जिल्लाहरुमा सामाजिक दूरी कायम गरी उनीहरुले गाईजात्रा मनाएका हुन् । काठमाडौं उपत्यका भित्र काठमाडौंको स्वयम्भू, बसन्तपुर, पशुपतिनाथ साथै भक्तपुरमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान’, ‘मेरो पर्व मेरो पहिचान’, ‘वैवाहिक सम्बन्धलाई कानुनी मान्यता देउ’लगायतका प्लेकार्ड बोकेर उनीहरुले आफ्नो हक अधिकारको माग गरेका छन् । निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधानमा भएकै व्यवस्थालाई कार्यान्वयन नभइरहेको अवस्थामा राज्यलाई दबाब स्वरुप गाईजात्रा मार्फत आफ्ना अधिकारको खोजी गरिएको जानकारी दिइन ।

उनले भनिन्,‘सामाजिक सुरक्षा, बैवाहिक समानतादेखि कोरोना भाइरसबाट प्रभावित भएका हाम्रा समूदायका व्यक्तिहरुलाई राज्यले कुनै व्यवस्था गरेको छैन् । खोपको र स्वास्थ्य सुरक्षाको व्यवस्था छैन् । हामी यी सबैखाले मागहरुका लागि राज्यलाई झकझक्याइरहेका छौं ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएको, प्रदेश तहमा पनि कार्यक्रमहरु नछुटाइएको र कोभिड नियन्त्रणका लागि कुनै योजना नबनाएको अध्यक्ष गुरुङले जानकारी दिइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील अभियन्ता भक्ति साहले आफू दुई दशकदेखि समूदायको अधिकारकै लागि लडिरहेको र गाईजात्राका अवसरमा संस्कृतिको जगेर्ना गर्दै अधिकारका कुरा उठाउँदै पर्व मनाइएको जानकारी दिए ।

त्यस्तै अर्का अभियन्ता सुदिप गौतमले पूर्ण आत्मसम्मान सहित हिंसारहित समाज निर्माण, वैवाहिक समानता साथै राज्यका सबै तहमा सम्मानजनक सहभागिताका लागि हामीले पटक पटक आवाज उठाउँदै आएको र गाईजात्राका अवसरमा सडकमा उभिएर अधिकार तथा पहिचानका लागि दबाब दिनुपरेको बताए ।

सोमबार भएका कार्यक्रमहरुमा उनीहरुले दिंवगत भएका आफ्ना समूदायका व्यक्ति तथा कोरोना संक्रमणका ज्यान गुमाएका समुदायका व्यक्तिहरुको नाममा दिप प्रज्वलन गरी शान्तिको कामना गरे । बर्षेनी देशभरका यौनिक अल्पसंख्यक समुदायले आआफ्ना क्षेत्रमा सांस्कृतिक झलकसहित झाँकीहरु प्रदर्शन गर्दै सन्देशमुलक कार्यक्रम आयोजना गर्ने गरेका छन् । विभिन्न जिल्लामा पनि गाईजात्राका अवसरमा कार्यक्रमहरु आयोजना गरिएको छ ।

"

प्रतिक्रिया दिनुहोस्