अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिवानले भन्यो : ‘यो देशका लागि गर्वको क्षण हो' - दर्पण संसार

अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिवानले भन्यो : ‘यो देशका लागि गर्वको क्षण हो'

काठमाडौं । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको संघर्षपछि हामीले देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन्। राजधानी काबुल सहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाहले ‘यो पुरै देशका लागि गर्वको क्षण हो’ भने।

‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,’ उनले थपे। हामी विरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौंं’ उनले भने ।

बीबीसीका अनुसार पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए।

‘उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्ने छन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिने छैन,’ मुजाहिदले भने। तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरू सहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ।

तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर सञ्चारमाध्यम प्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ। पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘निजी क्षेत्रका सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने छन्।’ बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्