नेपालमा अझै प्रिय लाग्छन् बेलायती ल्यान्डरोभर जिप - दर्पण संसार

नेपालमा अझै प्रिय लाग्छन् बेलायती ल्यान्डरोभर जिप

इलाम । नेपालमा अध्याधुनिक प्रविधिका नयाँ नयाँ गाडी भित्रिरहेका छन् । तर इलाममा ल्यान्डरोभर जिप अझै लोकप्रिय छ । करिब ७२ बर्ष पुरानो बेलायती ल्यान्डरोभर जिप फिक्कल–पशुपति रोडमा खुबै चल्थ्यो । अहिले विस्थापित भएको छ । तर इलाम–विब्ल्याँटे, बिब्ल्याँटे–बरबोटे–माइपोखरी हुँदै सन्तकपुर र दार्जिलिङ–मानेभन्ज्याङ–मेग्मा–सन्तकपुर क्षेत्रमा यसको माग हुनेगर्छ ।

पहाडी अफरोड बाटोमा यात्राका लागि पहाडी क्षेत्रमा मानिस र पर्यटकहरुका लागि या जिपप्रति विशेष नै लगाव छ । नेपालमा २० वर्ष पुराना सूचीमा परेकाले यी जिप चलाउन नपाइने भएपनि यसप्रति इलामेलीहरुको मोह घटेको छैन् । यो जिप आल्मुनियमको प्रयोगबाट बनेको र यसको हलुंगो बनावटले पहाडी कच्ची सडकमा सजिलो हुने बीचैमा गाडी बिग्रिए पनि चालकले सजिलै मर्मत गरी गुडाउन सक्ने गुणको हुन्छ । पहाडको जनजीवनसँग ल्यान्डरोभरको साइनो निकै प्रिय छ ।

दार्जिलिङ यो जिपको खुबै संरक्षण गरेको छ । पर्यटकलाई सयर गराएर मनग्गे आम्दानी पनि लिने गर्छ । त्यसबाहेक सीमावर्ती क्षेत्रमा राशन ओसार्न पनि यो जिप प्रयोग हुनेगर्छ । सन १९४८ अप्रिल ३० तारिखबाट निर्माण हुन थालेको ल्यान्डरोभर जिप आजसम्म निरन्तर चलिरहेको पाएपछि ल्यान्डरोभर कम्पनीसमेत चकित छ । इलाम सदरमुकाममा कुनैबेला ६० वटा र फिक्कल, पशुपतिनगर, तिनघरे, आइतबारेमा २५ वटाजति ल्यान्डरोभर चल्ने गर्थे तर अहिले यी जिप विस्थापित भइसकेकाछन् । तर पनि कुनै समय यही जिपको सहायतामा ओहोरदोहोर गरेकाहरु यात्रा स्मरण गर्ने गर्छन् । यी जिपको प्रयोगले पर्यटकलाई भुल्याउन सकिने आधारहरु भने अझै जिवित छन् ।

हिलाम्मे उकाली ओराली गर्न, पहाडका अप्ठ्यारा बाटामा यात्रु बोक्नेदेखि सामान ढुवानी गर्न यो जिप खुबै दरिलो मानिन्छ । हुनत यो जिप दोस्रो विश्वयुद्धताका प्रचलित जिपको डिजाइनबाट प्रभावित भएर बिट्रिस कम्पनीले डिजाइन गरेको थियो।

सैन्य प्रयोजनका लागि बनाइएको ल्यान्डरोभर जेम्स बोन्डका फिल्ममा सर्वाधिक प्रयोग भएको थियो । उच्च इन्जिन क्षमताको मेटल बडीयुक्त फोर ह्वील गाडीमा जंगल सफारीको आनन्दसमेत लिन सकिन्छ। यो जिप इलाममा मात्र होइन कुनै समय पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत पूर्वी पहाडका दर्जनौं गाउँमा यातायातका साधनका नाममा ल्यान्डरोभर प्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्