ओली सरकारलाई धक्का: २० जना मन्त्री पदमुक्त - दर्पण संसार

ओली सरकारलाई धक्का: २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीहरुको पद गएको हो ।

अब ओली सरकार सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

आदेशपछि उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र राजेन्द्र महतो एवं मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ्ग, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारद मुनि राना, गणेशकुमार पहाडी, मोहन बाँनिया तथा राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विक पदमुक्त भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले २० मन्त्रीलाई जिम्मेवारी मुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्