थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी, निर्णय चाँडै - दर्पण संसार

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी, निर्णय चाँडै

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो । मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुईवटासम्म नियमित उडान खुला गर्ने विषयमा आवश्यक गृहकार्य थालेको जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले यस्तो जानकारी गराएका हुन् । सहसचिव लामिछानेका अनुसार अब नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तीमा सातामा एकदेखि दुईवटासम्म उडान भर्ने प्रस्ताव गरिएको छ ।

उनले अब यस प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान सञ्चालन गर्न दिइने तयारीमा मन्त्रालय जुटेको जानकारी दिए ।

लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्तावअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आयो भने थप अन्तर्राष्ट्रिय उडान खुल्नेछ । जसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने अनुमान गरिएको उनले बताए ।

मन्त्रालयका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति दिईएको छ ।निषेधाज्ञासँगै सरकारले गत २० वैशाखबाट आन्तरिक र गत २३ वैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो । टर्की र कतारमा भने गत २० जेठदेखि मात्र सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको थियो । अहिले थप अन्तर्राष्ट्रिय गन्तव्य मुलुकमा पनि नियमित हवाई उडान खुला गर्नुपर्ने दबाब आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्