तीन आयोगमा नियुक्तिको टुंगो : लोक सेवामा माधव रेग्मी सिफारिस - दर्पण संसार

तीन आयोगमा नियुक्तिको टुंगो : लोक सेवामा माधव रेग्मी सिफारिस

काठमाडौं । आइतवार बसेको संवैधानिक परिषद्को बैठकले लोक सेवा आयोग, निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको लगभग टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले तीन आयोगका लागि नियुक्तिको टुंगो लगाएको राष्ट्रियसभाका अध्यक्षको सचिवालय स्रोतले जनाएको छ ।

स्रोतबाट प्राप्त जानकारी अनुसार लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी, निर्वाचन आयोगमा पूर्वसचिव वीरबहादुर राई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम सिफारिस गर्ने विषयमा छलफल भएको हो ।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइने र सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्