अलविदा प्रेमध्वजः अब घुम्तीमा आउने छैनन् उनी - दर्पण संसार

अलविदा प्रेमध्वजः अब घुम्तीमा आउने छैनन् उनी

काठमाडौं । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

बिहीबार बिहान सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको उनको विहीबार निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले फेसबुकमार्फत जनाएका छन् ।

८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि १२ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । प्रधानलाई कोभिड संक्रमणको आशंका गरिएपनि रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको विहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । उनका घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँलगायत थुप्रै कालजयी गीतहरु लोकप्रिय छन् ।

गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका थिए ।

उनको मृत्युबारे लक्ष्मण शेषले लेखेका छन्–‘अमर श्रष्टा तथा अजर अमर गायक श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रही नियमानुशार सहभागि भइदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित न्युरो हस्पिटलमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

रंगकर्मी राज शाहले लेखेका छन्–‘अब घुम्तीमा आउने छैनन उनी। मात्र गित गुञ्जिनेछन्। वरिष्ठ गायक प्रेमध्वज प्रधान प्रति हार्दिक श्रद्धाञ्जली।’

"

प्रतिक्रिया दिनुहोस्