धम्की आएपछि भारतमा कोरोना खोप बनाइरहेको कम्पनीको सिइओ परिवारसहित बेलायतमा - दर्पण संसार

धम्की आएपछि भारतमा कोरोना खोप बनाइरहेको कम्पनीको सिइओ परिवारसहित बेलायतमा

लण्डन । शक्तिशाली व्यक्तिको धम्की आएपछि सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत आएका छन् ।

सेरम इन्स्टिच्युटले भारतमा कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको छ ।

उनले धम्कीपछि आफूले भारत छोडेको बताएका हुन् ।

बेलायत आएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन् ।

नवभारत टाइम्सका अनुसार उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले फोन मार्फत धम्क्याएका थिए ।

सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ ।

पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो । तर पनि उनी आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित लण्डन आईपुगेका हुन् ।

‘म लण्डनमा अहिले तय भएको भन्दा बढी समय रहन्छु’, उनले त्यहाँको अखबारलाई भनेका छन्, ‘यो स्थितिमा म फर्कन सक्दिनँ । सबै मेरो काँधमा आइपर्यो तर म एक्लै त्यो गर्न सक्ने अवस्थामा छैन।'

भ्याक्सिनका लागि भारतीय शक्तिशाली व्यक्तिदेखि नागरिकसम्म उग्र रुपमा प्रस्तुत भएको बताउँदै उनले त्यसको दबाब झेल्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्