भारतको हरिद्वार पुगेर पूर्वराजा ज्ञानेन्द्र गरे सम्बोधन, हिन्दु धर्मबारे चिन्ता - दर्पण संसार

भारतको हरिद्वार पुगेर पूर्वराजा ज्ञानेन्द्र गरे सम्बोधन, हिन्दु धर्मबारे चिन्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको उत्तराखण्डस्थित हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा पूर्वराजा शाहले बाह्य दबाब र सांस्कृतिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कारमा ह्रास आएको बताए ।

शाहले हिन्दु धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्व कै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दु संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको बताउँदै उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

शाहले अब हामीले हाम्रो धर्म बचाउनु, संस्कृतिको रक्षा गर्नु, मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू, गंगा नदीहरूको प्रवाह स्वच्छ पार्नुपर्नेमा जोड दिएका छन्।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन् । ज्ञानेन्द्र र पूर्वरानी कोमल शाह हरिद्धार पुगेका हुन् ।

हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो ।

हिन्दुहरुको पवित्र धार्मिक स्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा शाहले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ।

महाकुम्भको सम्बोधन
विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक – यहां पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू, म सबै सबैलाई नमन गर्दछू, दुई कर जोडी बन्दन गर्दछु ।
गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहांहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहांहरूको श्रद्धायूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहांहरू सबैप्रति साधुवाद ।
हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मुताविक मैले सुने बुझे अनुसार कुम्भघडा अमृत तत्वले भरिपूर्ण घडा हो । सत्य युगमा समुन्द्र मन्थनबाट उत्पन्न अमृतका ३८घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए, ति घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोहि परम्परा अनुरुप हरेक बाह्र बर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ठ महत्व रहन गएको देखिन्छ ।
अमृतका तिनै कुम्भ घडाहरूबाट थोपा थोपा गरि विभिन्न नद नदिमा प्रभाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पूजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।
जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढंंगले बुझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मूक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ ।
भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड (हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ)हजारौं वर्ष अघि देखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।
हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन् (तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशिलन आफैमा गहन छन् ।
नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन् । जसले सदैव) सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बुझ्दछन् कुन्नि, तर सारभूतरूपमा भन्नुपर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई डो¥याउंद छन् ।

सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ। बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो ।
अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नु छ । भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्धुक्तिको ख्याल हामीले राख्नै पर्दछ ।
यिनै प्रयोजन हेतु यो महाकुम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान, विदुषि, सन्त महात्माहरूको ध्यान पुगोस् – यही अवधारणा छ मेरो – फेरि पनि सबैमा साधुवाद । धन्यवाद !

 

"

प्रतिक्रिया दिनुहोस्