नवीन्द्रराज जोशीको अन्तिम विदाइ - दर्पण संसार

नवीन्द्रराज जोशीको अन्तिम विदाइ

काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै शीर्ष नेता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जली ब्यक्त गरेका हुन् ।

सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिएका थिए ।

कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले स्वर्गीय जोशीको योगदानको स्मरण गरेका थिए ।
पञ्चायत विरुद्ध राजनीतिक आन्दोलनमा सक्रिय रहँदा पटकपटक गिरफ्तार हुनुका साथै सत्याग्रहमा भूमिगत जीवन समेत व्यतित गरेका जोशीले नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

नेपाली राजनीतिमा उनी एक निष्ठावान, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेताको रुपमा परिचित थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत जोशीलाई इमानको ख्याल गर्ने सक्रिय रुपमा आफूलाई समर्पित गर्ने स्वभाव रहेको स्मरण गर्छन् । विद्यार्थी राजनीतिमा सँगै सहकार्य गरेका डा.महत हरेक विषयलाई लिखित रुपमा राख्ने जोशीको स्वभाव पार्टी भित्र भिन्न रहेको बताउँछन् । डा. महत भन्छन्, ‘उहाँको स्वभाव जनताको कुरा सुन्ने र जनताका बीचमा सँधै जानुपर्छ भन्ने किसिमको थियो तर अब उहाँको आवश्यक्ता खड्कीरहने छ ।’

मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । जोशीको शनिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

प्रतिक्रिया दिनुहोस्