चार महिनासम्मको घर भाडा मिनाहा गर्न माग - दर्पण संसार

चार महिनासम्मको घर भाडा मिनाहा गर्न माग

काठमाडौं । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्यनजर गरी घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको छ ।

घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समेत समाजले सरकारसमक्ष राखेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत सचेतना अपनाइरहेको बेला देशको सम्पूर्ण कामकारबाही ठप्प भैसकेको समेत समाजले ठहर गरेको छ । यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेको व्यापारीहरुको व्यापार ठप्प भएको कारण घरभाडा तत्कालै सकेसम्म तीन महिना नसके केही छुट गर्न सरकार र घरधनीहरुलाई भाडावाला समाज नेपालको आग्रह छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर घरभाडा सरोकार समाज नेपालले उक्त आग्रह गरेको हो । नेपालमा सम्पूर्ण नागरिकले सन्त्रासको समयमा एकजुट भएर लड्नुपर्ने र आफ्नो ठाँउबाट मानवताका हिसाबले एक अर्का प्रति गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

कोरोनाका प्रभाव र नकारात्मक असर नेपालको अर्थतन्त्रमा समेत परेकोले सम्पूर्ण व्यापार, व्यवसाय र कार्यालायिक कामहरु पनि ठप्प भइरहेको अवस्थामा व्यवसाय गर्ने सम्पूर्ण व्यापारीलाई समेत ठूलो धक्का पुगेको समाजको भनाई छ ।

नेपालकै अर्थतन्त्रमा असर पर्ने विषयलाई केन्द्रीत गरी सम्पूर्ण घारभाडा दर, विद्यालय शुल्क, कलेज तथा क्याम्पसका शुल्क तत्कालै छुट गराउनुपर्ने समाजको माग छ । सरकारलाई ध्यानाकार्षण गराएको छ । साथै, समाजले अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी नियन्त्रण गरी सम्पूर्ण नागरिकलाई विपत्तको बेला सहज ढंगले उपलब्ध गराईदिन सरकारसंग आग्रह गरेको छ ।

ऋषि धमलाले कोरोनाको सन्त्रास नेपालमा पनि परेको सुनाउँदै सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति धमलाले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्