प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट ६२ नेपाली काठमाडौंमा - दर्पण संसार

प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट ६२ नेपाली काठमाडौंमा


काठमाडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६२ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।

अध्यागमन विभागकाअनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित ‘क्वारेन्टाइन’मा पठाइएको छ ।

सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनैपनि यात्री नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो ।

साथै, यी मुलुकबाट अन्य मुलुकलाई ‘ट्रान्जिट’ बनाएर पनि यात्री आउन नपाउने सरकारले जनाएको थियो ।

सरकारले योसम्बन्धी परिपत्र विदेशी एअरलाइन्सहरूलाई पठाएको भएपनि त्यसको उल्लंघन गर्दै विदेशी एअरलाइन्सहरूले नेपाली नागरिकलाई ओसारेका हुन् ।

सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्री झार्ने एअरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेको अध्यागमन विभागले जनाएको छ ।

यसअघि, चीनबाट ल्याइएका १७५ जना नेपालीलाई पनि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू १४ दिन क्वारेन्टाइनमै बसेर घर फर्किएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्