खनाल–नेपाल समूहको १७ बुँदे प्रस्ताव पारितः अ‍ोली गुटबन्दीका विरुद्ध लड्न आब्हान - दर्पण संसार

खनाल–नेपाल समूहको १७ बुँदे प्रस्ताव पारितः अ‍ोली गुटबन्दीका विरुद्ध लड्न आब्हान

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गर्दै १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी फागुन २८ गतेको निर्णय रद्द गर्न माग समेत गरेको छ । भेलाले संसद पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए ।

त्यस्तै नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरु नस्वीकार्ने भेलाको निष्कर्ष रहेको छ । त्यस्तै जबजको मर्म अनुसार देशभर पार्टीका संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको नेता भट्टराईले जानकारी दिए ।

भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुनअनुसार चल्न आग्रह गरेको छ । राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गर्दै अघि बढ्न भेलाले आग्रह गर्दै केपी अ‍ोलीले गुटबन्दीका विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्