ओलीको स्वेच्छाचारीताविरुद्ध नेपाल–खनाल समूहले ल्यायो १३ सूत्रीय कार्यनीति - दर्पण संसार

ओलीको स्वेच्छाचारीताविरुद्ध नेपाल–खनाल समूहले ल्यायो १३ सूत्रीय कार्यनीति

काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहले केपी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष थप अघि बढाउने भएको छ । राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्दै ओलीविरुद्ध शसक्त बन्ने निर्णय गरेको हो ।

जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल–खनाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ ।

ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध राखी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष गर्ने बताका हुन् ।

आफ्नो समूहको रणनीति तय गर्न सहभागीलाई दश समूहमा विभाजन गरेर छलफल चलाइएको छ भने ती समूहले आ–आफ्ना निष्कर्ष पेश गर्नेछन् । सबै सुझावलाई समेटेर तीन महिने एकीकृत रणनीति बनाइने भएको हो ।

सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई मान्यता दिन नसकिने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पनि एमालेमा अध्यक्ष केपी ओली र नेता नेपाल पक्षबीचको विवाद सुल्झन सकेको छैन ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपामा रहँदा भएको मतभेदलाई एमाले ब्युँतिसकेपछि नेपाल पक्षलाई कार्वाही गर्दा फेरि विवाद बढेको हो । यसै सन्दर्भमा आगामी दिनमा लिने रणनीति तय गर्न नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको हो ।

सर्वोच्च अदालतको फैसलापछि एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरी उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ ।

ओलीले पछिल्लो समय केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारबाही गर्न थालेपछि नेपाल पक्ष सक्रिय बनेको हो ।

प्रतिक्रिया दिनुहोस्