कोरोनाको संत्रास : काठमाडौं छाड्नेको लर्को - दर्पण संसार

कोरोनाको संत्रास : काठमाडौं छाड्नेको लर्को

काठमाडौं । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।

नयाँ बसपार्क संचालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउँछन् ।

घर जान विहीबार बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउँछन् ।

महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १ सय ८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् ।

त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह बताए ।

प्रतिक्रिया दिनुहोस्