दुई सातामा तीनपटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि - दर्पण संसार

दुई सातामा तीनपटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

काठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समेत प्रतिलिटर दुई रुपैयाँका दरले बढायो ।

निगमले फागुनको १७ गते मध्यरातबाट लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलमा दूई–दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि गरेर पेट्रोल प्रतिलिटर १ सय १६ र डिजेल तथा मट्टितेलको मुल्य ९९ रुपैयाँ पु¥याएको छ ।

१५ दिनमा स्वचालित मूल्य समायोजन हुने भए पनि दुई सातामा तीनपटकको वृद्धिलाई भने अस्वभााविक रूपमा हेरिएको छ । निगमले एकातर्फ प्रत्येक वर्ष कर्मचारीलाई बोनस बाँड्न जगेडा कोषमा अर्बौं राख्ने गरेको छ भने अर्कोतर्फ उपभोक्ताको ढाड सेक्नेगरी मूल्य बढाउने गरेको छ ।

५८ रुपैयाँ १७ पैसामा किनेको पेट्रोल १ सय १६ रुपैयाँ र ५९ रुपैयाँ २१ पैसामा किनेको डिजेल ९९ रुपैयाँमा बेचिरहेको आयल निगमले पटक–पटक घाटामा नै रहेको दाबी गरिरहन्छ ।

सरकारी स्वमित्वकोे संस्था निगमको अभिभावकीय भूमिका नहुनु दुःखद भएको उपभोक्ताकर्मीको गुनासो छ । कोभिडका कारण केही समय ओरालो लागेको पेट्रोलियम पदार्थको मूल्य पछिल्लो दुई हप्तामा तीन पटक सम्म बढेपछि उपभोक्तालाई अन्य वस्तुमा हुने मूल्य वृद्धिको चिन्ताले सताउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्