श्रेष्ठ परिवारद्वारा क्याम्पसमा छात्रवृति स्थापना - दर्पण संसार

श्रेष्ठ परिवारद्वारा क्याम्पसमा छात्रवृति स्थापना

 

आज सरस्वति पूजाको दिन ओखलढुंगा क्याम्पस, ओखलढुंगामा “राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति” स्थापना गरिएको छ। ओखलढुंगाका होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठका परिवारले उहाहरुको नाममा स्थापित होमबहादुर-प्रेमकुमारी श्रेष्ठ ट्रष्टको तर्फबाट सो ट्रष्ट स्थापना गरिएको कुरा सो छात्रवृतिका संस्थापक शिवजी श्रेष्ठले बताउनु भयो। ३५ बर्ष अगाडी बि स २०४२ सालमा स्थापित सो क्याम्पसका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुमध्ये प्रत्येक बर्ष एकजनाले छात्रवृति पाउने गरि हाललाइ रु १,२०,००० को अक्षय कोष खडा गरिएको छ। आजै सो बापतको रकम रु १,२०,००० ट्रष्टको तर्फबाट केन्द्र श्रेष्ठले क्याम्पस प्रमुख सुमन राजभण्डारीलाइ हस्तान्तरण गर्नु भएको सो कोषबाट आउने ब्याजबाट प्रत्येक बर्ष छात्रवृति प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सोहि अवसरमा यसबर्षको ‘राधेश्याम श्रेष्ठ स्मृति छात्रवृति’ प्रमाणपत्र सहित रु ११,१११ ट्रष्टको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सो क्याम्पसको बि बि एस तेश्रो बर्षमा अध्ययनरत छात्रा मनिता बस्नेतलाई प्रदान गर्नु भयो।

सोहि अवसरमा पुर्ब क्याम्पस प्रमुख नारायण बहादुर सैंजु तथा संचालक समितिका पुर्ब अध्यक्ष भैरव बहादुर श्रेष्ठको बिदाइ तथा सम्मान समेत गरिएको सो कार्यक्रममा छात्रवृतिका संस्थापक शिवजी श्रेष्ठको संदेश पढेर सुनाइएको थियो।उहाका भाइ बुहारी सम्झना श्रेष्ठले पढेर सुनाइएको सो सन्देशमा शिवजी श्रेष्ठले “आज भन्दा ४० बर्ष अगाडी क्याम्पस स्थापना गर्न थोरै रकम कम हुदा क्याम्पस स्थापनाको काम पछि धकेलिदा एउटा पुस्ताले आफ्नो उच्च शिक्षा हासिल गर्ने अवसर गुमाएको थियो ‘ भन्दै चराले आफु जन्मे-हुर्केर उड्न सिकेको गुड भुले जसरी बिद्यार्थीहरुले भोलि आफु जहाँ रहेपनि जन्मदाता, जन्मथलो, बिद्यार्जन गरेको थलो भुल्न नहुने कुरा बताउनु भयो।

सो अवसरमा क्याम्पस प्रमुख सुमन राजभण्डारीले श्रेष्ठ परिवारले यस अघि पनि जिल्लाको स्कुल, अस्पताललाई पुर्याउनु भएको सहयोगको स्मरण गर्दै यस क्याम्पसको बिद्यार्थीको पढाइको लागि प्रोत्साहन पुगोस भनि आफ्ना स्वर्गीय दाजु राधेश्याम श्रेष्ठको स्मृतिमा छात्रवृति स्थापना गरिदिनु भएकोमा धन्यबाद दिनुभयो।सो छात्रवृति स्थापना गरि जिल्लाको शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएकोमा क्याम्पसको तर्फबाट सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले श्रेष्ठ परिवारको लागि केन्द्र श्रेष्ठलाइ कदर पत्र प्रदान गर्नुभयो। सो समारोहमा अन्य उपस्थित व्यक्तित्वहरुमा ओखलढुंगा २ न प्रदेस सभा सदस्य, जिल्ला समन्वय समितिका सभापति जय बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गोविन्द काफ्ले, जिल्ला सशस्त्र प्रहरी बल प्रमुख, स्थानीय नेपाली सेनाका गणका सेनानी, सहसेनानी, स्थानीय कार्यालय प्रमुखहरु, स्थानीय स्कुलहरुका प्रध्यानापकहरु, नगरपालिकाका वडा प्रमुखहरु, शिक्षाप्रेमी एबम समाजसेवीहरुको उपस्थितिमा बिद्यार्थीहरुले सरस्वति बन्दना सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बस्नुहुने शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले केहि समय अगाडी मात्रै भक्तलाल श्रेष्ठ र भेषकुमारी श्रेष्ठसंग मिलेर ओखलढुंगा जिल्ला अस्पताललाइ पोर्टेबल अक्सिजन सामग्री प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्