जमुनाहमा नाकामा सवारीसाधनको आवागमन पूर्णरुपमा बन्द - दर्पण संसार

जमुनाहमा नाकामा सवारीसाधनको आवागमन पूर्णरुपमा बन्द

नेपालगन्ज । कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत सीमानाको जमुनाहमा नाकामा सवारीसाधनको आवागमन बुधवारदेखि पूर्णरुपमा बन्द गरिएको छ ।

भारतको लखनउमा कोरोनाका ३ जना बिरामी फेला परेपछि सो भाइरस नेपालमा भित्रिने ठुलो आशंका उत्पन्न भएकोले बुधवारदेखि नाकामा सवारी साधनको आवागमन बन्द गरेर भारतबाट आउने हरुमाथि निगरानी कडा पारिएको छ ।

सवारीसाधन सन्चालनमा रोक लगाए पनि पैदल आवात जावत भने बन्द नगरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँके र भारतको बहराईचका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीको बैठकले नेपालगन्ज नाकाबाट मालवाहक बाहेकका सबै सवारी साधनको आवगमनमा रोक लगाउने निर्णय गरेपछि बुधवार विहानबाट सवारीसाधनको आवागमन बन्द गरिएको सो कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दुवै देशमा प्रवेश गर्ने ठूला मालवाहक सवारी साधन बाहेक सर्वसाधारणसंग सम्बन्धित सबै सवारी साधनको आवागमनमा रोक लगाईएको बताए ।

किनमेलका लागि सीमापारी जाने र आउनेहरुले नाकामा भिडभाड धेरै गरेपछि भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षणमा समेत समस्या आएकोले अन्य सवारी साधनदेखि साइकलसम्मको संचालनमा रोक लगाइएको उनले बताए ।

सवारी साधनलाई नाका भन्दा ४ किलोमिटर यतै रोेकिएको र भारत जान र भारतबाट आउन चाहनेले ४ किलोमिटर पैदल हिडेर आवागमन गर्नु पर्ने व्यवस्था मिलाइएको छ ।

अतिआवश्यक कामले सीमापारी जाने र भारतबाट घर फर्किने नेपालीहरुका लागि पैदल आवतजावत गर्ने छुट दिइएको नाकामा रहेको जमुनाह प्रहरी चौकीले जनाएको छ ।

भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरु अहिले ठुलो संख्यामा नेपाल फर्किरहेका छन् । नेपाल फर्किने सबैको स्वास्थ्य परिक्षणलाई बुधवारबाट निकै कडा पारिएको र कसैलाई पनि परिक्षण बिना आउन नदिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्