अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवनमा आक्रमणः इतिहासकै कालो धब्बा - दर्पण संसार

अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवनमा आक्रमणः इतिहासकै कालो धब्बा

काठमाडौं । अमेरिकी प्रजातन्त्रमा जनवरी ६ को सन्ध्या कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो ।

निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको मन्दिर मान्ने गरेको संसद भवन क्यापिट हिलमै आक्रमण गर्न लगाएको बताइन्छ ।

जसको सर्वत्र निन्दा र भर्त्सना शुरु भएको छ । राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका छन् ।

राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्राहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’

राष्ट्रलाई सम्बोधन गर्दै उनले ट्रम्प समर्थक भिडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गर्दै यो ‘अति भएको’ टिप्पणी गरे ।
क्यापिटल भवनमा केही व्यक्तिले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिस भएको र यो देशद्रोह हो, उनको निचोड थियो ।

उपराष्ट्रपति माइक पेन्सले यो हिंसा खप्न नसकिने भन्दै जो जो संलग्न छन् तिनलाई सख्त काकारवाही गरिने चेतावनी दिँदै भने, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजायँ दिइनेछ ।’

सिनेटर चक शूमरले यस घटनालाई एक अन्तिम, भयानक र अमिट विरासतको संज्ञा दिँदै भन्नुभएको छ, ‘६ जनवरीलाई अब हामी अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने सूचीमा जोड्न सक्छौं ।’

प्रजातन्त्रका लागि पवित्र यस मन्दिरमा रहेका निर्वाचित प्रतिनिधिहरु आफ्नो ज्यान जोगाउनकै लागि भागम्भाग गरिरहेको दृश्य संसारले देख्नपर्नु गम्भीर लज्जाको विषय भएको उनले बताए ।

यो अमेरिकालाई एक धब्बा भएको भन्दै शूमरले यो त्यति सजिलै धुन नसकिने र ४५औं अमेरिकी राष्ट्रपतिको एक अन्तिम, भयानक, अमिट विरासत पक्कै पनि हामी सबैका लागि खराब भएको टिप्पणी गरेका छन् ।

ट्रम्पको यी उग्र आक्रमणकारी जत्था प्रदर्शनकारी नभई ‘घरेलू आतंकवादी’ भएको र यिनले अमेरिकाको प्रतिनिधित्व गर्न नसक्ने पनि उनले उल्लेख गरे ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण प्रकृया अनुसार ह्वाइस हाउस छोड्ने घोषणा गरेका छन् । अमेरिकी कांग्रेसले जोय बाइडेनको जीत प्रमाणीत गरेपछि ट्रम्पले ह्वाइट हाउस छोड्ने विषयमा आज (शुक्रबार) वक्तव्य जारी गरेका हुन् ।

अमेरिकी राष्ट्रपतिय रुपान्तरणको परम्परा अनुसार जनवरी २० मा ट्रम्पले ह्वाइट हाउस छोड्ने छन् भने बाइडेन राष्ट्रपतिका रुपमा ह्वाइट हाउस भित्रिने छन् ।

प्रतिक्रिया दिनुहोस्