नेपालका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला - दर्पण संसार

नेपालका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रबारदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार÷पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा सङ्घ मर्कामा परेको बताए ।

प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्