नेपालको विद्युत् वितरणका लागि १८ अर्ब ४१ करोड ऋण - दर्पण संसार

नेपालको विद्युत् वितरणका लागि १८ अर्ब ४१ करोड ऋण

काठमाडौं । नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब १८ अर्ब ४१ करोड रुपैयाँ (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ।

बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो।

नेपालमा विद्युत्को पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ।

यस्तै प्राधिकरणको संस्थागत सुदृढीकरण एवं आधुनिकीकरण गर्दै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान कार्यलाई तीव्र रुपमा अगाडि बढाइनेछ। देशभरका ग्रीड सबस्टेसनको स्वसञ्चालन एवं विभिन्न क्षेत्रमा वितरण र प्रसारण प्रणालीलाई आधुनिकीकरण गरिनेछ। ती सबै काम प्राधिकरणले गर्नेछ।

नेपालको ऊर्जा क्षेत्रको संस्थागत सुधारमा सक्रियताका साथ सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै एडीबीका ऊर्जा विशेषज्ञ जीवन आचार्यले सो परियोजनाले भरपर्दो एवं गुणस्तरीय बिजुली आपूर्ति गर्न सहयोगलाई निरन्तरता दिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्